1आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। 2उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। 3सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। 4उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो। 5त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजयी भएको छैन। 6परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो। 7उनीद्वारा सबैले विश्वास गरून् भनेर त्यस ज्योतिको गवाही दिन उनी साक्षी भई आए। 8उनी आफै त्यो ज्योति थिएनन्, तर त्यस ज्योतिको गवाही दिन आए। 9हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो। 10उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। 11उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। 12तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। 13तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा, र कुनै मान्छेको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन्। 14अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। 15यूहन्नाले उहाँको विषयमा गवाही दिँदै उच्च स्वरले भने, “उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसको विषयमा मैले भनें, ‘मपछि आउनुहुने मभन्दा उच्च हुनुहुन्छ, किनभने उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो’।” 16उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं। 17किनभने व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए। 18परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ।
12त्यसपछि उहाँ आफ्ना आमा, भाइहरू र चेलाहरूसँग कफर्नहुममा जानुभयो, र केही दिन त्यहाँ बस्नुभयो। 13यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र येशू यरूशलेममा जानुभयो। 14उहाँले मन्दिरमा गोरु, भेड़ा र ढुकुर बेच्नेहरू र पैसा साट्नेहरूले किनबेच गरिरहेका भेट्टाउनुभयो। 15तब डोरीको एउटा कोर्रा बनाएर उहाँले मन्दिरबाट ती सबैलाई, तिनका भेड़ाहरू र गोरुहरूलाई समेत मन्दिरबाट बाहिर लघार्नुभयो, र पैसा साट्नेहरूको रेचकी घोप्ट्याएर तिनीहरूका टेबिल पल्टाइदिनुभयो। 16ढुकुर बेच्नेहरूलाई उहाँले भन्नुभयो, “यहाँबाट यी सब थोक लैजाओ। मेरा पिताको भवनलाई व्यापारको घर नतुल्याओ।” 17उहाँका चेलाहरूलाई धर्मशास्त्रमा लेखिएको यो कुरा याद भयो, “तपाईंका भवनको जोशले मलाई जलाउनेछ।” 18यहूदीहरूले उहाँलाई भने, “तपाईं यी काम गर्नुहुन्छ, त यिनका निम्ति हामीलाई के चिन्ह देखाउनुहुन्छ?” 19येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खड़ा गर्नेछु।” 20तब यहूदीहरूले भने, “यस मन्दिरलाई निर्माण गर्न छयालीस वर्ष लाग्यो, र के तपाईं यसलाई तीन दिनमा खड़ा गर्न सक्नुहुन्छ र?” 21तर जुन मन्दिरको विषयमा उहाँ बोल्नुभएको थियो, त्यो उहाँको शरीर थियो। 22जब उहाँ मृतकबाट उठाइनुभयो, तब येशूले भन्नुभएको यो कुरा चेलाहरूलाई स्मरण भयो, र तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्वास गरे। 23जब उहाँ निस्तार-चाड़का भोजको बेला यरूशलेममा हुनुहुन्थ्यो, तब उहाँले गर्नुभएका चिन्हहरू देखेर धेरैले उहाँको नाउँमा विश्वास गरे। 24तर येशूले आफैलाई तिनीहरूका भरमा छोड्नुभएन, 25किनकि मानिस के हो भनी उहाँ जान्नुहुन्थ्यो। उहाँलाई मानिसको विषयमा कसैले सिकाउनु आवश्यक थिएन, किनकि मानिसको हृदयमा के हुन्छ, सो उहाँ स्वयम् जान्नुहुन्थ्यो।
1फरिसीहरूमध्ये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्य थिए। 2यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन।” 3येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।” 4निकोदेमसले उहाँलाई भने, “मानिस बूढ़ो भएपछि कसरी जन्मन सक्छ र? के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ?” 5येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। 6शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो। 7मैले तिमीलाई नयाँ गरी जन्मनुपर्छ भन्दा अचम्म नमान। 8बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कता जान्छ, त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ।” 9निकोदेमसले उहाँलाई सोधे, “यो कसरी हुन सक्दछ?” 10येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुरा बुझ्दैनौ? 11साँच्चै, म तिमीलाई भन्दछु, हामी जे जान्दछौं त्यो भन्दछौं, र हामीले जे देखेका छौं त्यसको गवाही दिन्छौं, तर तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ। 12मैले तिमीहरूलाई पृथ्वीका कुरा भनें, र पनि तिमीहरू विश्वास गर्दैनौ, त तिमीहरूलाई स्वर्गका कुरा बताएँ भने कसरी विश्वास गर्न सक्छौ? 13स्वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन। 14जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, 15र जस-जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ। 16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। 17किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो। 18जसले उहाँमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। 19फैसलाचाहिँ यही हो: ज्योति संसारमा आएको छ, र मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए। 20किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र ज्योतिमा आउँदैन, नत्रता त्यसका काम प्रकट हुनेछन्। 21सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रस्टै देखिन्छ।”
1यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्छ र बप्तिस्मा पनि दिँदैहुनुहुन्छ भन्ने फरिसीहरूले सुने। 2(वास्तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे।) 3जब येशूले यो थाहा पाउनुभयो, उहाँ यहूदिया छोड़ेर फेरि गालीलमा फर्कनुभयो। 4उहाँलाई सामरिया भएर जानुपर्थ्यो। 5र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नुभयो। यो नगरचाहिँ याकूबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्यो। 6त्यहाँ याकूबको इनार थियो। येशू यात्राले थाक्नुभएको हुनाले त्यस इनारको छेउमा बसिरहनुभएको थियो। प्राय: मध्यान्ह भएको थियो। 7एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। येशूले त्यसलाई भन्नुभयो, “मलाई पानी पिउन देऊ।” 8उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए। 9तब सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ?” (यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।) 10येशूले त्यसलाई भन्नुभयो, “तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो।” 11त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, तपाईंसित उघाउने भाँड़ो छैन, र इनार पनि गहिरो छ। तब तपाईंले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? 12के तपाईं हाम्रा पुर्खा याकूबभन्दा ठूला हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए, र उनी आफैले, उनका सन्तान र उनका गाईबस्तुले यही इनारको पानी पिए।” 13येशूले त्यसलाई भन्नुभयो, “यो पानी पिउने प्रत्येक फेरि तिर्खाउनेछ, 14तर जस-जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउनेछैन। जुन पानी म त्यसलाई दिनेछु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ!” 15त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, मलाई त्यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन”। 16येशूले त्यसलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाएर ल्याऊ।” 17त्यस स्त्रीले भनी, “मेरो पति छैन।” येशूले तिनलाई भन्नुभयो, “तिम्रो पति छैन भनी तिमीले ठीकै भन्यौ, 18किनभने तिम्रा पाँच जना पति भइसकेका छन्, र जो अहिले तिमीसँग छ, त्यो तिम्रो पति होइन। तिमीले यो साँचो भनेकी हौ।” 19त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, तपाईं अगमवक्ता हुनुहुन्छ भनी म थाहा पाउँछु। 20हाम्रा पुर्खाहरूले यस डाँड़ामा आराधना गरे, अनि तपाईंहरू भन्नुहुन्छ, कि आराधना गर्ने स्थान यरूशलेम हो।” 21येशूले तिनलाई भन्नुभयो, “ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँड़ामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ। 22तिमीहरू जे आराधना गर्दछौ सो जान्दैनौ। हामी जे आराधना गर्दछौं सो जान्दछौं, किनभने मुक्तिचाहिँ यहूदीहरूबाट आउँछ। 23तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ। 24परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।” 25त्यस स्त्रीले उहाँलाई भनी, “म जान्दछु, कि मसीह आउनुहुन्छ (जसलाई ख्रीष्ट भनिन्छ), र जब उहाँ आउनुहुन्छ, तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ।” 26येशूले तिनलाई भन्नुभयो, “तिमीसँग बोल्ने, म उही हुँ।” 27त्यति नै बेला उहाँका चेलाहरू आए, र उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर छक्क परे, तर “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसँग किन बातचीत गर्दैहुनुहुन्छ?” भनेर कसैले सोधेनन्। 28तब त्यो स्त्री आफ्नो गाग्रो छोड़ेर नगरतिर गई, र मानिसहरूलाई भनी, 29“आओ, एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ नै ख्रीष्ट त हुनुहुन्न?” 30तब तिनीहरू नगरबाट निस्केर उहाँकहाँ गए। 31यसै बीचमा चेलाहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, “रब्बी, भोजन गर्नुहोस्।” 32तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मसित खानलाई भोजन छ, जो तिमीहरूलाई थाहा छैन।” 33यसकारण चेलाहरूले आपसमा भने, “के कसैले उहाँलाई भोजन ल्याइदियो कि कसो?” 34येशूले तिनीहरूलाई भन्नुभयो, “मलाई पठाउनुहुनेको इच्छाअनुसार गर्नु, र उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो। 35के तिमीहरू भन्दैनौ, ‘अझ चार महिना बाँकी छ, तब बाली काट्ने बेला आउँछ?’ म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा उचालेर खेतबारी हेर, बाली कटनीको निम्ति पाकिसकेको छ। 36जसले बाली काट्छ त्यसले ज्याला पाउँछ, र अनन्त जीवनको लागि फल बटुल्छ, र छर्ने र कटनी गर्ने एकसाथ रमाउँछन्। 37किनकि ‘एक जनाले छर्छ, र अर्काले कटनी गर्छ,’ भन्ने वचन यसैमा सत्य हुन्छ। 38मैले तिमीहरूलाई त्यहाँ कटनी गर्न पठाएँ, जहाँ तिमीहरूले परिश्रम गरेका छैनौं। अरूहरूले परिश्रम गरेका छन्, र तिनीहरूको परिश्रमका फल तिमीहरूले पाएका छौ।” 39“मैले जे गरें उहाँले मलाई सबै भनिदिनुभयो” भन्ने त्यस स्त्रीको गवाहीले गर्दा त्यस नगरका सामरीहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे। 40यसकारण जब सामरीहरू उहाँकहाँ आए, तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न बिन्ती गरे, र उहाँ दुई दिन त्यहाँ बस्नुभयो। 41अनि उहाँका वचनको कारण अरू धेरैले उहाँमाथि विश्वास गरे। 42त्यस स्त्रीलाई तिनीहरूले भने, “अब तिमीले भनेका कुराले गर्दा हामीले विश्वास गरेका होइनौं, तर हामी आफैले सुनेका कारणले साँच्चै उहाँ संसारका मुक्तिदाता हुनुहुन्छ भनी हामीले जानेका छौं।”
19येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, पुत्र आफैले केही गर्न सक्दैन, तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले त्यसै गर्छ। 20किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफैले गरिरहनुभएका सबै काम पुत्रलाई देखाउनुहुन्छ। यीभन्दा महान् काम उहाँले पुत्रलाई देखाउनुहुनेछ, र तिमीहरू आश्चर्यचकित हुनेछौ। 21किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसलाई जीवन दिँदछ। 22किनकि पिताले कसैको न्याय गर्नुहुन्न, तर सबै न्याय गर्ने काम पुत्रलाई दिनुभएको छ, 23ताकि सबैले पुत्रको आदर गरून्, जसरी तिनीहरूले पिताको आदर गर्दछन्। पुत्रको आदर नगर्नेले उसलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन। 24 “साँच्चै, म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। त्यो न्यायमा आउँदैन, तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ। 25साँच्चै, म तिमीहरूलाई भन्दछु, त्यो समय आइरहेछ, र त्यो समय अहिले हो, जब मृतकहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्, र सुन्नेहरू बाँच्नेछन्। 26किनभने जसरी पिता आफैमा जीवन छ, उसरी नै उहाँले पुत्रलाई पनि आफैमा जीवनको स्रोत हुने अधिकार दिनुभएको छ। 27अनि उसलाई न्यायको फैसला दिने अधिकार दिनुभएको छ, किनभने ऊ मानिसको पुत्र हो। 28 “यसमा अचम्म नमान, किनभने समय आइरहेछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्, 29र बाहिर निस्किआउनेछन्: सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, र कुकर्म गर्नेहरूचाहिँ दण्डाज्ञाको पुनरुत्थानको निम्ति। 30 “म आफै केही गर्न सक्दिनँ। जस्तो म सुन्छु, त्यस्तै न्याय म गर्छु, र मेरो न्याय ठीक ठहर्छ, किनकि म आफ्नो इच्छा खोज्दिनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु।
25तिनीहरूले उहाँलाई समुद्र पारि भेट्टाएर उहाँलाई सोधे, “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?” 26येशूले तिनीहरूलाई जवाफ दिई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू चिन्हहरू देखेर होइन, तर अघाउञ्जेल रोटी खाएको कारणले मलाई खोज्दछौ। 27नष्ट हुने भोजनको निम्ति परिश्रम नगर, तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ। किनभने परमेश्वर पिताले उसमाथि आफ्नो छाप लगाउनुभएको छ।” 28तिनीहरूले उहाँलाई भने, “परमेश्वरले चाहनुभएको काम गर्नलाई हामीले के गर्नुपर्छ?” 29येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको काम यही हो: जसलाई उहाँले पठाउनुभयो उसमाथि विश्वास गर।” 30यसकारण तिनीहरूले उहाँलाई भने, “तपाईं के चिन्ह देखाउनुहुन्छ, सो हामी हेरौं, र तपाईंलाई विश्वास गरौं? तपाईं के गर्नुहुन्छ? 31हाम्रा पिता-पुर्खाले उजाड़-स्थानमा मन्न खाए, जसरी लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानलाई स्वर्गबाट रोटी दिनुभयो’।” 32येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूलाई स्वर्गबाट रोटी दिने मोशा होइनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ। 33किनभने परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट ओर्लिआउँछ, र संसारलाई जीवन दिन्छ।” 34तिनीहरूले उहाँलाई भने, “प्रभु, यो रोटी हामीलाई सधैँ दिनुहोस्।” 35येशूले तिनीहरूलाई भन्नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन। 36तर मैले तिमीहरूलाई भनेकै छु, तिमीहरूले मलाई देखेका छौ, र पनि विश्वास गर्दैनौ। 37पिताले मलाई दिनुहुने सबै मकहाँ आउनेछन्, र मकहाँ आउनेलाई कुनै रीतिले म त्याग्नेछैनँ। 38आफ्नो इच्छा पूरा गर्न म स्वर्गबाट ओर्लिआएको होइनँ, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ। 39र मलाई पठाउनुहुनेको इच्छा यो हो, कि उहाँले मलाई दिनुभएकाहरूमध्ये कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ। 40किनभने मेरा पिताको इच्छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस्, र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।” 41यहूदीहरू उहाँको विरुद्धमा गनगनाउन लागे, किनभने उहाँले भन्नुभयो, “स्वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।” 42तिनीहरूले भने, “के यो योसेफको छोरो, येशू होइन? यसका बुबा र आमालाई हामी चिन्दैनौं र? अहिले यसले कसरी ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्दछ?” 43येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू आपसमा नगनगनाओ। 44मलाई पठाउनुहुने पिताले खिँच्नुभएन भने कोही मकहाँ आउन सक्दैन, र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। 45‘अनि ती सबै जना परमेश्वरद्वारा सिकाइनेछन्’ भनी अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ। प्रत्येक जसले पिताबाट सुन्छ र सिक्छ त्यो मकहाँ आउँछ। 46पितालाई कुनै मानिसले देखेको छैन, केवल उसले मात्र देखेको छ जो परमेश्वरबाट आएको हो, उसैले पितालाई देखेको छ। 47साँच्चै म तिमीहरूलाई भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन छ। 48म जीवनको रोटी हुँ। 49तिमीहरूका पिता-पुर्खाहरूले उजाड-स्थानमा मन्न खाए तापनि तिनीहरू मरेर गए। 50स्वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्छ त्यो मर्नेछैन। 51स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्योचाहिँ मेरो देह हो।” 52तब यहूदीहरू आपसमा बहस गर्न लागे, “यस मानिसले कसरी हामीलाई आफ्नो देह खान दिन सक्छ?” 53येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन। 54मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु। 55किनभने मेरो देह साँच्चै खानेकुरो हो, र मेरो रगत साँच्चै पिउने कुरो हो। 56मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु। 57जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ। 58स्वर्गबाट आएको यो रोटी त्यस्तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए। यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ।” 59उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्नुभएको हो।
12येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।” 13तब फरिसीहरूले उहाँलाई भने, “तिमी आफ्नै विषयमा गवाही दिइरहेछौ। तिम्रो गवाही सत्य ठहर्दैन।” 14येशूले जवाफ दिनुभयो, “म आफ्नै विषयमा गवाही दिन्छु, तापनि मेरो गवाही सत्य छ। म जान्दछु, म कहाँबाट आएको हुँ, र म कहाँ गइरहेछु। तर तिमीहरू जान्दैनौ, म कहाँबाट आउँछु, वा कहाँ गइरहेछु। 15तिमीहरू मानव दृष्टिले न्याय गर्दछौ। म कसैको न्याय गर्दिनँ। 16मैले न्याय गरें भने पनि, मेरो न्याय सत्य ठहरिन्छ। किनभने न्याय गर्ने म एकलै छैनँ, तर म छु, र मलाई पठाउनुहुने पिता हुनुहुन्छ। 17तिमीहरूको व्यवस्थामा पनि दुई मानिसको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ। 18आफ्नो विषयमा म आफै गवाही दिन्छु, र मलाई पठाउनुहुने पिताले मेरो विषयमा गवाही दिनुहुन्छ।” 19तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरू न त मलाई चिन्छौ न मेरा पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्नेथियौ।” 20यी कुरा उहाँले मन्दिरमा शिक्षा दिनुहुँदा भेटी चढ़ाउने ढुकुटीको छेउमा भन्नुभएको हो। अनि कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझ आएको थिएन।
1त्यहाँबाट जाँदैगर्दा येशूले एक जना जन्मैको अन्धालाई देख्नुभयो। 2उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, कसले पाप गर्यो, यसले कि यसका आमा-बुबाले, र यो अन्धो जन्म्यो?” 3येशूले जवाफ दिनुभयो, “न त यसले पाप गर्यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्। 4मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्दैन। 5म संसारमा रहुञ्जेल म संसारको ज्योति हुँ।” 6यी कुरा भनेर उहाँले भूइँमा थुक्नुभयो, र थूकले माटो मुछेर लेप बनाई त्यसका आँखामा लगाइदिनुभयो। 7अनि उहाँले त्यसलाई भन्नुभयो, “जाऊ, सिलोआमको (जसको अर्थ हो, पठाइएको) तलाउमा गएर पखाल।” त्यसले गएर पखाल्यो, र देख्ने भएर फर्क्यो। 8त्यसका छिमेकीहरू र त्यसलाई भीख मागेको देख्नेहरूले भने, “बसेर भीख माग्ने मान्छे के यही होइन?” 9कसै-कसैले भने, “यो त्यही हो।” अरूले भने, “होइन, यो त्यहीजस्तो देखिन्छ।” त्यसले भन्यो, “म त्यही हुँ।” 10तब तिनीहरूले त्यसलाई सोधे, “तेरा आँखा कसरी खोलिए त?” 11त्यसले जवाफ दियो, “येशू भन्ने एक जना मानिसले माटोको लेप बनाएर मेरा आँखामा लगाइदिएर मलाई भन्नुभयो, ‘सिलोआममा जाऊ र पखाल।’ तब गएर मैले पखालें, र म देख्ने भएँ।” 12तिनीहरूले त्यसलाई भने, “तिनी कहाँ छन् त?” त्यसले भन्यो, “म जान्दिनँ।”
7यसकारण येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, भेड़ाहरूको ढोका मै हुँ। 8मभन्दा अघि आउने सबै चोर र डाँकूहरू हुन्, तर भेड़ाहरूले तिनीहरूका कुरा सुनेनन्। 9ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ। 10 “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ। 11म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ। 12भाडाको मान्छेचाहिँ भेड़ाहरूको आफ्नै गोठालोजस्तो होइन। त्यसले त ब्वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्यो भाग्छ, र ब्वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्छ, र तितरबितर पारिदिन्छ। 13त्यो भाग्छ, किनभने त्यो भाडाको मान्छे हो, त्यसले भेड़ाको केही वास्ता गर्दैन। 14 “म असल गोठालो हुँ, म आफ्ना भेड़ाहरूलाई चिन्छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्छन्। 15जसरी पिताले मलाई चिन्नुहुन्छ, म पितालाई चिन्छु, अनि म भेड़ाहरूका लागि आफ्नो प्राण अर्पण दिन्छु। 16 “मेरा अरू भेड़ा छन्, जो यस गोठका होइनन्। तिनीहरूलाई पनि मैले ल्याउनुपरेको छ, र तिनीहरूले मेरो सोर सुन्नेछन्, र तिनीहरू एउटै बगाल हुनेछन्, र एउटै गोठालो हुनेछ। 17पिताले मलाई यसैकारण प्रेम गर्नुहुन्छ, किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु। 18कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ, अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु।” 19यी वचनका कारणले यहूदीहरूमा फेरि मतभेद भयो। 20तिनीहरूमध्ये धेरैले भन्दथिए, “यसलाई भूत लागेको छ, र यो बौलाएको छ। तिमीहरू यसको कुरा किन सुन्छौ?” 21अरूहरूले भन्दथिए, “भूत लागेको मानिसको कुरा यस्तो हुँदैन। के भूतले अन्धाका आँखा खोल्न सक्तछ र?”
20चाड़मा आराधना गर्न जानेहरूमध्ये कोही-कोही ग्रीकहरू पनि थिए। 21तिनीहरू गालीलको बेथसेदा निवासी फिलिपकहाँ आएर यसो भनेर बिन्ती गरे, “हजूर, हामी येशूलाई भेट्न चाहन्छौ।” 22फिलिपले गएर अन्द्रियासलाई भने, र अन्द्रियास र फिलिप गएर येशूलाई भने। 23येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ। 24साँच्चै, म तिमीहरूलाई भन्दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ। तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। 25आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्छ 26कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ।
31जब त्यो बाहिर गयो तब येशूले भन्नुभयो, “अब मानिसको पुत्र महिमित भएको छ, र परमेश्वर उसमा महिमित हुनुभएको छ। 32यदि परमेश्वर उसमा महिमित हुनुभएको छ भने परमेश्वरले आफैमा उसलाई महिमित पार्नुहुनेछ, अनि उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ। 33 “साना बालक हो, केही बेरसम्म म तिमीहरूसँग छु! तिमीहरूले मलाई खोज्नेछौ, र जसो मैले यहूदीहरूलाई भनें, अब तिमीहरूलाई पनि म भन्दछु, ‘जहाँ म गइरहेछु, तिमीहरू आउन सक्दैनौ।’ 34 “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर। 35यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।”
1 “तिमीहरूको हृदय व्याकुल नहोस्। तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर। 2मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए, के म तिमीहरूलाई भन्नेथिएँ र, कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु? 3अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ। 4जहाँ म गइरहेछु, तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ।” 5थोमाले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ, हामी जान्दैनौं, तब हामीले बाटो कसरी चिन्ने?” 6येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन। 7तिमीहरूले मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्नेथियौ। अबदेखि उसो उहाँलाई चिन्दछौ, र उहाँलाई देखेका छौ।” 8फिलिपले उहाँलाई भने, “हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्। त्यति भए हामीलाई पुग्छ।” 9येशूले तिनलाई भन्नुभयो, “फिलिप, यतिको समयसम्म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्दैनौ? जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ। तिमी कसरी भन्न सक्छौ, ‘हामीलाई पिता देखाइदिनुहोस्?’ 10म पितामा छु, र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ? जुन वाणी म तिमीहरूलाई भन्दछु, त्यो मैले मेरो आफ्नै अधिकारमा बोलेको होइनँ तर ममा वास गर्नुहुने पिताले आफ्नो काम गर्नुहुन्छ। 11मलाई विश्वास गर, कि म पितामा छु, र पिता ममा हुनुहुन्छ। नत्रभने यी कामहरूकै खातिर विश्वास गर। 12 “साँच्चै, म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ, त्यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्दा ठूला काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु। 13तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। 14तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने म गरिदिनेछु।
पवित्र आत्माको प्रतिज्ञा15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। 16र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ। 17यिनी सत्यका आत्मा हुनुहुन्छ, जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले उहाँलाई न त देख्छ न चिन्छ। तिमीहरू उहाँलाई चिन्छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ। 18 “म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु। 19अब केही समयपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ। 20त्यस दिन तिमीहरूले जान्नेछौ, कि म मेरा पितामा छु, र तिमीहरू ममा, र म तिमीहरूमा छु। 21मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ। म त्यसलाई प्रेम गर्नेछु, र म आफैलाई त्यसकहाँ प्रकट गर्नेछु।” 22यहूदाले (इस्करियोतचाहिँ होइन) उहाँलाई भने, “प्रभु, तपाईंले के भन्नुभएको, तपाईं आफैलाई हामीमा प्रकट गर्नुहुन्छ, र संसारलाई चाहिँ होइन?” 23येशूले तिनलाई जवाफ दिई भन्नुभयो, “जसले मलाई प्रेम गर्छ, त्यसले मेरो वचन पालन गर्नेछ, र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्यसकहाँ आउनेछौं, र त्यससँग वास गर्नेछौं। 24मलाई प्रेम नगर्नेले मेरा वचन पालन गर्दैन। जुन वचन तिमीहरू सुन्छौ, त्यो मेरो होइन, तर मलाई पठाउनुहुने पिताको हो। 25 “यी कुरा तिमीहरूसँग रहँदै मैले तिमीहरूलाई भनेको हुँ। 26तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ। 27शान्ति म तिमीहरूसँग छोडिराख्छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। 28 “मैले तिमीहरूलाई ‘म गइरहेछु, र तिमीहरूकहाँ आउँछु’ भनेको तिमीहरूले सुन्यौ। तिमीहरूले मलाई प्रेम गरेका भए म पिताकहाँ जाँदैछु भनेको सुनेर तिमीहरू रमाउनेथियौ, किनकि पिता मभन्दा महान् हुनुहुन्छ। 29अब यो हुन अघि नै मैले तिमीहरूलाई भनिदिएको छु, र जब यो हुन आउँछ तिमीहरूले विश्वास गर्न सक। 30म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनभने यस संसारको शासक आइरहेछ। त्यसको ममाथि केही शक्ति छैन। 31तर म पितालाई प्रेम गर्दछु, र जस्तो पिताले मलाई आज्ञा गर्नुभएको छ सोहीबमोजिम गर्दछु भनी संसारले जानोस्। उठ, हामी यहाँबाट जाऔं।”
1 “साँचो दाखको बोट म हुँ, र मेरा पिता किसान हुनुहुन्छ। 2ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाँट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई झन् बढ़ी फल फलोस् भनी उहाँले छिँवल्नुहुन्छ। 3मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। 4ममा रहो, र म तिमीहरूमा रहन्छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ। 5 “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। 6कोही मानिस ममा रहेन भने, त्यो हाँगाझैँ बाहिर मिल्काइन्छ, र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन्, र आगोमा फालिदिन्छन्, र ती जलिहाल्छन्। 7तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ। 8तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्ने प्रमाणित गर्यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ। 9 “पिताले जसरी मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो। 10यदि मेरा आज्ञाहरू पालन गर्यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु। 11मैले यी कुरा तिमीहरूलाई यसैकारण भनेको छु, कि मेरो आनन्द तिमीहरूमा होस्, र तिमीहरूको आनन्द भरिपूर्ण होस्। 12 “मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर। 13आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। 14म तिमीहरूलाई जे आज्ञा गर्दछु, ती तिमीहरूले गर्यौ भने, तिमीहरू मेरा मित्र हौ। 15अबदेखि म तिमीहरूलाई नोकर भन्दिनँ, किनकि त्यसका मालिकले के गर्दछ नोकरले जान्दैन। तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु। 16मलाई तिमीहरूले चुनेनौ, तर मैले तिमीहरूलाई चुनें र तिमीहरूलाई नियुक्त गरें, कि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूको फल रहिरहोस्। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला, उहाँले तिमीहरूलाई सो दिनुहुनेछ। 17म तिमीहरूलाई यो आज्ञा दिँदछु, कि तिमीहरूले एक-अर्कालाई प्रेम गर।
1यी कुरा भनिसक्नुभएपछि येशूले स्वर्गतिर आँखा उचाली भन्नुभयो, “हे पिता, समय आइपुगेको छ, तपाईंका पुत्रको महिमा प्रकट गर्नुहोस्, र पुत्रले तपाईंको महिमा प्रकट गरोस्। 2किनकि तपाईंले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ, ताकि तपाईंले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन देओस्। 3अब अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई चिनून्, र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्। 4जुन काम तपाईंले मलाई दिनुभयो, त्यो पूरा गरी तपाईंलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु। 5अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईंको सम्मुख मेरो जुन महिमा थियो, त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्। 6 “संसारबाट जुन मानिसहरू तपाईंले मलाई दिनुभयो, तिनीहरूलाई तपाईंको नाउँ मैले प्रकट गरिदिएको छु। तिनीहरू तपाईंका थिए, अनि तपाईंले तिनीहरू मलाई दिनुभयो, र तिनीहरूले तपाईंको वचन पालन गरेका छन्। 7तिनीहरूलाई अब थाहा छ, कि तपाईंले मलाई दिनुभएको प्रत्येक कुरा तपाईंबाट आएको हो। 8किनभने जुन वाणी तपाईंले मलाई दिनुभयो, मैले तिनीहरूलाई दिएको छु, र तिनीहरूले ती ग्रहण गरेका छन्। म तपाईंबाट आएको हुँ भन्ने तिनीहरूले साँच्चै जानेका छन्, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरेका छन्। 9म तिनीहरूका निम्ति प्रार्थना गर्दछु, संसारको निम्ति म प्रार्थना गर्दिनँ, तर तिनीहरूका निम्ति, जसलाई तपाईंले मलाई दिनुभएको छ। किनभने तिनीहरू तपाईंकै हुन्। 10मेरा सबै जे छन् तपाईंका हुन्, र तपाईंका जे छन् मेरा हुन्। मेरो महिमा तिनीहरूमा प्रकट भएको छ। 11 “म फेरि संसारमा रहँदिनँ, तर यिनीहरू त संसारमा रहन्छन्। मचाहिँ तपाईंकहाँ आइरहेछु। पवित्र पिता, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस्, र हामी जस्तै तिनीहरू पनि एक होऊन्। 12जबसम्म म तिनीहरूसँग थिएँ, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राखें। तिनीहरूको रक्षा गरें। अनि तिनीहरूमध्ये विनाशको छोराबाहेक अरू कोही नष्ट भएन, किनकि धर्मशास्त्र पूरा हुन आवश्यक थियो। 13 “तर अब म तपाईंकहाँ आइरहेछु। संसारमा हुँदा यी कुरा म बोल्दछु, कि तिनीहरूमा मेरो आनन्द पूरा होस्। 14मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गर्यो, किनकि तिनीहरू संसारका होइनन्, जसरी म संसारको होइनँ। 15तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्। 16तिनीहरू संसारका होइनन्, जस्तो म पनि संसारको होइनँ। 17तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्य हो। 18जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। 19तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु, ताकि तिनीहरू पनि सत्यतामा पवित्र होऊन्। 20 “म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु, 21कि तिनीहरू सबै एक होऊन्। हे पिता, जसरी तपाईं ममा हुनुहुन्छ, र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्। 22जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्। 23म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन्, र तपाईंले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्। 24 “पिता, म इच्छा गर्दछु, कि तपाईंले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहून्, र मेरो महिमा देखून्, जुन महिमा, संसारको सृष्टि हुन अघि देखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईंले मलाई दिनुभएको थियो। 25 “धार्मिक पिता, संसारले तपाईंलाई चिन्दैन, तर म तपाईंलाई चिन्दछु, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी यिनीहरूले जान्दछन्। 26मैले तपाईंको नाउँ यिनीहरूमा प्रकट गरें, अनि तपाईंको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईंले प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस्, र म तिनीहरूमा रहूँ।”
28यसपछि येशूले सबै कुरा अब सिद्धिए भनी जानेर धर्मशास्त्र पूरो होस् भनी भन्नुभयो, “मलाई तिर्खा लाग्यो।” 29त्यहाँ सिर्काले भरिएको एउटा भाँड़ो राखिएको थियो। यसकारण सिर्काले भरिएको स्पञ्ज एउटा हिसपको हाँगामा राखेर तिनीहरूले उहाँको मुखमा पुर्याइदिए। 30जब येशूले सिर्का लिनुभयो, तब उहाँले भन्नुभयो, “अब सिद्धियो,” र उहाँले शिर निहुराएर आफ्नो आत्मा त्यागिदिनुभयो। 31त्यो दिन तयारीको दिन थियो। यसकारण यहूदीहरूले शबाथमा (विशेष गरी यस शबाथमा, जुनचाहिँ महत्त्वपूर्ण थियो) मृत शरीरहरू क्रूसमा नरहून् भनी पिलातसलाई बिन्ती गरे, र तिनीहरूका खुट्टा भाँचेर तिनीहरूका शरीर लगिऊन् भनी माग गरे। 32तब सिपाहीहरू आएर उहाँसँग क्रूसमा टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले एक जनाको, त्यसपछि अर्कोको। 33जब तिनीहरू येशूकहाँ आए तिनीहरूले देखे, कि उहाँको मृत्यु अघि नै भइसकेको रहेछ, र उहाँका खुट्टा भाँचेनन्। 34तर सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखामा भालाले घोच्यो, र तुरुन्तै रगत र पानी निस्क्यो। 35तिमीहरू पनि विश्वास गर्न सक भनी यो देख्नेले गवाही दिएको हो र उसको गवाही साँचो छ, र साँचो बोल्दछु भनी ऊ जान्दछ। 36“उहाँको कुनै पनि हड्डी भाँचिनेछैन” भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुरा हुन आए। 37अनि फेरि अर्को ठाउँमा धर्मशास्त्र भन्छ, “जसलाई तिनीहरूले घोचेका छन्, तिनीहरूले उहाँलाई हेर्नेछन्।”
19त्यही दिन, अर्थात् हप्ताको पहिलो दिनको साँझ, जब यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर भित्र बसेका थिए, येशू आएर तिनीहरूका माझमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति!” 20यति भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा पनि देखाउनुभयो। प्रभुलाई देखेर चेलाहरू अति खुसी भए। 21तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति! जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु।” 22अनि यति भनेर उहाँले तिनीहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ। 23जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन।